Mar 12, 2009

आविष्कारमा अंकुर
दिनदिनै लोडसेडिङ्को समय बढ्दै गएका बेला विराटनगरका विद्यार्थी अंकुर चौलागाईं, १४, समुदायलाई ऊर्जाको विकल्प दिन लागिपरेका छन् । देवकोटा मेमोरयिल स्कुलमा कक्षा ८ मा अध्ययनरत विराटनगर-४, पोखरयिाका अंकुरले यही क्रममा दुईखाले मिनी इन्भर्टर बनाएका छन् । त्यसमध्ये एउटाले पाँच घन्टा चार्ज गर्दा १० घन्टासम्म र अर्काले पाँच घन्टासम्म उज्यालो दिन्छ । उनका ठूला र साना इन्भर्टर क्रमशः १ हजार ५ सय र एक हजार रुपियाँमा बिक्री हुने गरेका छन् । अंकुरलाई सुरुमा बुबा यज्ञप्रसाद चौलागाईंले उपकरणहरू जुटाइदिएकामा अहिले आत्मनिर्भर भएका छन् । फागुन दोस्रो साता भएको तीनदिने 'टेक्नो एक्स्पो २००९' पछि उनका आविष्कारबारे धेरैलाई थाहा भयो । सानैदेखि आविष्कारमा रुचि राख्ने अंकुरले कम्प्युटर इन्जिनियर बन्ने लक्ष्य लिएका छन् । उनको कामबाट शिक्षिका आमा विमला र राष्ट्रिय वाणिज्य ब्यांकमा कार्यरत बाबु निकै खुसी छन् । यसअघि पनि मजाले हावा फाल्ने पंखा बनाइसकेका अंकुरको इन्भर्टरले व्यावसायिक रूप लिन भने बाँकी छ ।

नरेन्द्र रौले/विराटनगर

No comments: