Showing posts with label फरक काम. Show all posts
Showing posts with label फरक काम. Show all posts

Sep 5, 2009

किताब बेच्ने नौलो जुक्ति
नरेन्द्र रौले/काठमाडौँ
आफूले लेखेका पुस्तकहरू कसरी बेच्ने ? धेरैजसो लेखक पुस्तक पसलको भर पर्छन् । कतै प्रकाशन गृहले नै बिक्रीको जिम्मा लिएका हुन्छन् । मकवानपुर, फापरबारी-५ का भीमप्रसाद दुलाल, ६५, ले भने पुस्तक बेच्ने अर्कै तरिका अपनाएका छन् । विसं ०३८ देखि हालसम्म ६९ किताब लेखिसकेका दुलाल किताब बेच्न मुलुकका ७५ जिल्ला पुगिसकेका छन् । उनी जहाँजहाँ जान्छन्, मानिसहरू भेला गरेर सिंगै किताब पढेर सुनाउँछन् र मन पराउनेलाई त्यहीबेला किनाउँछन् । दुलालले राजनीतिक व्यंग्य, अपराध, तस्करी र दरबार हत्याकाण्डदेखि श्रीखण्डलाई खुर्पाको बिँड बनाउने प्रवृत्तिसम्मका विषयमा कलम चलाएका छन् । यस क्रममा ३१ पटक पक्राउ परेका छन्, तीन वर्ष जेलमा बिताएका छन् । सधँै एक्लै हिँड्ने बानी बनाएका भीमप्रसादले अहिले भने ललितपुरका गणेशराज भेटवाल, ३८, लाई अभिन्न साथी बनाएका छन् । यी दुईले एक स्वरमा कविता पढ्दा श्रोताबाट तालीको पर्रा छुट्छ । यो काइदा अपनाउँदा एकै दिनमा ६० वटासम्म किताब बिकेका छन्, भीमप्रसादका । भन्छन्, "अब पुस्तक पसल खोल्ने सुरमा छु ।"
पत्रिकाकै स्वरुपमा हेर्ने भए यहा" छ
http://www.kantipuronline.com/Nepal/show.php?&sid=5376
अपहरणविरुद्ध अभियान
नरेन्द्र रौले/काठमाडौँ
सहरमा अपहरण-हत्याजस्ता जघन्य अपराध बढ्दो छन् । स्कुल गएका केटाकेटी कतिखेर अपराधीको पञ्जामा पर्छन्, थाहा हँुदैन । कतिपय घटनामा अपहरणमा परेकाहरूलाई परिवारले फिरौती दिएर पनि जीवित फर्काउन सकेका छैनन् । यस्ता घटनाहरू दोहोरिन नदिन भनेर काठमाडौँ-३५, कोटेश्वरका विमला, ३९, र केदार लुइँटेल, ४६, दम्पतीले आफ्ना छोरा विवेकको सम्झनामा विवेक शर्मा लुइँटेल प्रतिष्ठान खोलेका छन् । अपहरणकारीहरूले तीन वर्षअघि विवेकको अपहरणपछि हत्या गरेका थिए । केदार लुइँटेल भन्छन्, "अपराधीको हातबाट छोरा गुमाउँदा हामीले भोगेको पीडा अरूले भोग्न नपरोस् ।"त्यो पीडा भोगेका लुइँटेल दम्पती यस अभियानमार्फत अरू आमाबाबुलाई यस्तो अपराधविरुद्घ होसियार र प्रेरित गराउन चाहन्छन् । उनीहरूले बालबालिकाविरुद्ध हुने अपराधको तथ्यांक संकलन मात्र गरेका छैनन्, कारबाहीका निम्ति दबाब पनि सिर्जना गरिरहेका छन् । बालबालिका, अभिभावक, शिक्षक सबैलाई सुरक्षासम्बन्धी शिविरमा सहभागी गराउने, अपहरणका घटनाबारे भिडियो लाइब्रेरी बनाउने उनीहरूको योजना छ । घरैमा खोलिएको भए पनि पवित्र लक्ष्य र उद्देश्यका कारण यस प्रतिष्ठानले ठूलै कार्यालयको स्वरूप लिँदैछ, जसमा आफन्तजन र शुभचिन्तकहरूले प्रशंसनीय सहयोग गरेका छन् । यस प्रतिष्ठानलाई आवश्यक सहयोग पुर्‍याउने आश्वासन प्रधानमन्त्रीबाट पनि आएको छ ।

पत्रिकाकै स्वरुप मा हेर्ने भए यहा छ-
http://www.kantipuronline.com/Nepal/show.php?&sid=5718