Nov 13, 2011
तिहार घुमघाम ०६८
हेलो मितेरी गाउ
नरेन्द्र रौले
कास्कीको ताङतिङ अब पहिले जस्तो छैन । पोखराबाट उत्तर पुर्वमा अबस्थित् यो गाउ परिबर्तनको बाटोतिर लम्किदैछ । केही वर्षअघि सम्म अध्यारोले छोपेको यो गाउ अहिले बत्तिले झिलिमिली छ । घरघरमा सुधारिएको चुलो, पानीका धारा, र चर्पी छन् । विद्यार्थीहरु बत्तिको उज्यालोमा गृहकार्य गर्छन् ।
नबुझेका कुरा सिक्न इन्टरनेट सर्फ गर्छन् । युवा र वयस्कहरु गाउको नया पुस्तकालय छिरेर समाचार र ज्ञानको तिर्खा मेटाउछन् । गृहिणीहरु बेलुकिपख टेलिभिजनमा तीतो सत्य, जीरे खुर्सानि, मेरी बास्सै हेर्दै मनोरन्जन लिन्छन् ।
ताङतिङ ब्युझिएर बिहानै झ्यालबाट चियाउदा अन्नपूर्ण हिमाल मुसुक्क मुस्कुराउछ । आखै अघि टलक्क टल्किने अन्नपूर्णजस्तै पवित्र छ, ताङतिङको मन । तलतिर सुसाइरहने मादि खोला जस्तै निर्मल, निश्चल र निष्कपट छ । चिरिच्याट्ट परेको यो बस्तिले आगन्तुकहरुलाई पहिलो भेटमै न्यानो आत्मियता बाड्छ । परिचयका हातहरु टाढाटाढा फैलाउछ । कुनै भुगोलले छेक्ने भए बेलायतका डेवडेन र विमविस गाउहरुसंग ताङतिङको साइनो गासिदैनथ्यो । मनै त हो, कोषौं टाढाका यिं बेलायति गाउहरुसंग नेपालको पहाडि यस गाउले मित लगायो । त्यसैले ताङतिङ अब ‘मितेरी गाउ’ का रुपमा परिचय फैलाउदैछ ।
ठ्याक्कै ४ वर्षअघि भुपु ब्रिटिस सैनिक क्याप्टेन गौ बहादुर गुरुङ र बेलायतमा बसोबास गरिरहेका ताङतिङे ब्रिटिस आर्मीको दिमाग एउटै कुरा फुर्यो, ‘कसरी गाउको विकासमा जुट्ने ?’ बेलायतमा बाक्लै बसोबास भएका उनीहरुले नया उपाय सोचे, ‘वेलायतका यिं गाउहरु संग आफु जन्मिएको गाउ ताङतिङको मितेरी लगाउने ।’ यसो गर्दा गाउको विकास सम्भब हुन्छ होला भन्ने उनीहरुलाई लाग्यो । ‘दुइ देश विचको संस्कृति, रहनसनहन, भाषा, र सकारात्मक का
महरु हामीले सिक्नु थियो ।’ दुर्गा गुरुङले त्यो क्षण सम्झिदै भने । ‘अनि बेलायतकै मोरे बेलिसको अध्यक्षतामा ताङतिङ मितेरी संगठन खोल्यौं ।’ दुइ गाउबिचको त्यो मितेरी सम्बन्धलाई डिस्टि्रक काउन्सिलर टिना नाइटले संस्थागत रुपमा औपचारिक मान्यता दिईन् । तिनै टिनालाई पछि संगठनको सम्मानित अध्यक्ष समेत बनाईयो ।
‘वन्डरफुल जर्नी ।’ तेस्रो पटक ताङतिङ आईपुगेकि टिनाले गए साता संवाददातासंग भनिन्, ‘यो यात्रा एकदम सफल रह्यो ।’ हालै ताङतिङमा चलाएको शिविर प्रति लक्षित गर्दै उनले भनिन् । बेलायतबाटै सेवा गर्न ७ जना सर्जन डाक्टर सहित २५ जनाको टोली गए साता ताङतिङ आईपुग्यो । झण्डै २ हजार गाउलेहरुले दात , कान, छाती लगायतका रोगका उपचार गराए । मितेरी संगठनबाटै यहाका बृद्धबृद्धा, अशक्त, अपांगहरुले भत्तँ पाए । आधा दर्जन विद्यार्थीहरुलाई कलेज पढ्ने छात्रबृत्ति मिल्यो । यस अघि पनि २० जना विद्यार्थीहरुले छात्रबृत्ति पाईरहेका छन् । ‘गाउको यति प्रगति हुनुमा हाम्रो पसिना बगेको छ ।’ ताङतिङ मितेरी संगठन कास्कीका अध्यक्ष प्रकाश गुरुङले भने, ‘हामीले बेलायत निबासी ताङतिङे दाजुभाईहरु संग समन्वय नगरेको भए यो सम्भब हुन्थेन ।’ हिमालयन मिलन माबि, ताङतिङका प्रधानाध्यापक समेत रहेका प्रकाशले आफ्नो स्कुलका लागी पनि मितेरी संगठन, अन्य संघ संस्थाहरु मार्फ धेरै कुराको पहल गरेका छन् । विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, पुस्तकालय थपिदा अहिले पर्ढाईमा निकै सहजता आएको छ । यहाका गरिब तथा जेहेन्दार विद्यार्थीहरुले छात्रबृत्ति पाउछन् । र बेलायतको मेड स्टोन ग्रामर स्कुल फर गर्ल संग पत्रमित्र गासेका यहाका विद्यार्थीहरु एक अर्काबिच पर्ढाई, लेखाई, धर्म, संस्कृति, चालचलन, देश र समाजका बारेमा आफ्ना अनुभबहरु साटासाट गर्छन् । वर्षोनी डेवडेन र विमविस गाउहरुबाट बेलायतीहरु यसरी नै ताङतिङ घुम्न आउछन् । हरेक पटक लत्ता कपडा, औषधि, भाडाकुडा, क्युरियोका सामान, कापी, कलम , किताब उपहारका रुपमा ल्याउछन् । ताङतिङले गुरुङ गीत गाएर न्यानो स्वागत गर्छ , विदेसी पाहुनाहरु छम्छमी नाच्छन् । फर्किदा ताङतिङले माया गरेर उपहार स्वरुप दिएका मादल, बासुरी, सारंगी, बुद्धको मुर्ति , घिउ, मह, छुर्पि बोकेर फर्किन्छन् ।
यहि ‘मितेरी र्साईनो’ ले ताङतिङबासिको चेतनाको दैलो उघारिदिएको छ । सामाजिक, राजनितीक, शैक्षिक क्षेत्रमा उनीहरु अग्रसर हुदैछन् । विकट मानिएको यो गाउले विस्तारै काचुली फेर्दैछ । वल्लो पल्लो र छिमेकि गाविसका गाउहरुका लागी ताङतिङ लोभ लाग्दो उदाहरण बनेको छ । यहाको प्रगति देखेर अन्य गाउहरु मनमनै इर्ष्या गर्छन् । तर यो त्यत्तिकै सम्भब भएको होईन । पौरखि ताङतिङबासिको दिनरातको मिहेनतपछि मात्र सबै कुराको सम्भब भएको हो । चुल्होमा आगो बाल्दा घरभरी धुवा र आखाभरी आशु हुन्थ्यो । यसले गर्दा दमका रोगी र आखाका रोगीहरुको संख्या निकै बढ्यो । धुवारहित चुल्हो बनाउन उनीहरु आफै कस्सिए । नेपाल रेडक्रस सोसाइटि, कास्की र युनिका फाउण्डेशसन, नेदरल्याण्डसंग प्राबिधिक सहयोगका लागी गुहारेपछि धुवारहित चुल्हो बनाएरै देखाए । ‘बल्ल सन्तोषको सास फेर्न पायौं ।’ सुकमाया गुरुङ, ६३ ले बिगत सम्झदै कहानी सुनाईन् । अहिले दाउराको खपतमा कमी आउनुका साथै बन जोगिएको छ ।
स्वास्थ्य स्थितीमा सुधार आएको छ । प्रत्येक घरघरमा पानीका धारा, चर्पी बनाएर सभ्य र असल नागरिकको पहिचान बनाएका छन्, ताङतिङबासिहरुले । पारी पट्टीको सिकलेस गाउ झिलिमिली हुदा वारी भने अ“ध्यारो छाएको हुन्थ्यो । घट्टेखोला लघु जलविद्युत आयोजना सुरु गरेपछि अहिले ताङतिङ झलमल्ल छ । टेलिभिजनमा समाचार हेर्न , मनोरन्जनात्मक कार्यक्रम सजिलै हेर्न सकिन्छ । गुरुङ जातीको घना बस्ति, झुरुप्प परेका घरहरु र रमणिय ठाउ भएकैले धेरैको रोजाईमा ताङतिङ चलचित्र सुटिङ गर्ने थलोका रुपमा विकसित हुदैछ । धेरै जसो त यहाकै निर्देशक, निर्माता र कलाकारहरु छन् । गुरुङ भाषा, संस्कृति, रितिरिवाज र चालचलन सिकाउन ताङतिङले ठूलो मद्दत गरेको ठान्छन्, चलचित्र निर्माता तथा स्थानियबासि, वेद बहादुर गुरुङ (श्याम), ४४ । ‘देश विदेशमा हामीलाई चिनाउन ताङतिङकै हात छ ।’ उनले भने । ‘नया कामको थालनि हामी आफैबाट सुरु गर्नुपर्छ ।’ हर्क बहादुर गुरुङले भने, ‘हामीबाट अरु गाउहरुले पनि त्यसको सिको गरुन् ।’ धन्य मितेरी गाउ ।