Jan 7, 2009

दृष्टिविहीनका दृष्टि

नरेन्द्र रौले
गोठाटार-४, काठमाडौका रमेश दाहाल, ३९, का लागि भौतिक संसार अँध्यारो भए पनि उनको वैज्ञानिक क्षमता आश्चर्यजनक छ । उनले बनाएका ट्राफिक लाइट, ड्रइङ् बोर्ड, भ्याकुम पम्प, ल्याडर र्‍याम्प, मनी स्कील, एयर पोलुसन कन्ट्रोल फ्यान, भूकम्पसूचक यन्त्रजस्ता थुप्रै उपकरण हेर्दा जो कोही पनि चकित हुन्छन् । भक्तपुरको आदर्श माविबाट एसएलसी गरेका रमेशको आँखाका कारण त्रिचन्द्र क्याम्पसमा आईएसी पढ्ने सपना पूरा हुन पाएन । १२ वर्षअघि रेटि्रनाइटिस प्रेमेन्टोस नामक रोगबाट सधैँका लागि उनको दृष्टि क्षमता गुम्यो । तर, जीवनदेखि कहिल्यै हरेस नखाई निरन्तर आविष्कारमा लागिरहे उनी । उनका आविष्कार मूलतः दृष्टिविहीनहरूकै लागि छन् । उनले पहिलोपटक २१ हजार रुपियाँ लगानीमा ट्राफिक लाइट आविष्कार गरे । व्यस्त सडकको ट्राफिक बत्तीको ठाउँमा राखिने यो मेसिनले दुईखाले आवाज दिन्छ । कुन आवाज आउँदा बाटो काट्ने वा नकाट्ने ठम्याउन यो मेसिन उपयोगी छ । दृष्टिविहीन र वृद्धवृद्धाहरूका लागि यो यन्त्र विशेष उपयोगी हुने उनी बताउँछन् । उनको अर्को आविष्कार मनी स्कीलले कति रुपियाँको नोट हो भनेर ठम्याउन मद्दत गर्छ । नोटको आकार अनुसार यन्त्रमा प्वाल पारेर छाम्दा त्यसको दर थाहा हुने रमेश बताउँछन् । त्यस्तै उनले बनाएको भ्याकुम पम्पले बिजुली वा तेलबिना नै पानी तान्छ । भन्छन्, "टाढा खोलामा बगेको पानीलाई घरमै तान्न यो मेसिन बनाएको हुँ ।" यसैगरी, दृष्टिविहीनहरूलाई बाटोमा हिँड्दा आफू कहाँ छु भनेर पत्ता लगाउन उनले ड्रइङ् बोर्ड बनाएका छन् । यो प्वाल पारिएको एक प्रकारको नक्सा हो, जसलाई छामेर ठाउँ पत्ता लगाउन सकिन्छ । यस्ता आविष्कारको लामो सूची छ उनीसँग । कसरी गर्छन् त उनी आविष्कार ? "जहाँ आवश्यकता, त्यहाँ आविष्कारक । एकान्तमा बसेर मैले त्यस्तै गररिहेको छु," उनी भन्छन् । आविष्कारको ध्याउन्नमा लागेका रमेशलाई नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान -नास्ट)ले ०६१ सालमा ३० हजार रुपियाँको नकर्मी धातु प्रतिभा पुरस्कारबाट सम्मानित गरेको छ ।

2 comments:

डीआर न्यौपाने'सूर्य' said...

संसार नदेखेपनि उहको सिप र लगनशिलताको म प्रसंसा गर्दै तपाइको ब्लगमा समाबेश हुन आए।आसा छ सहयात्रको डोरि लम्बिनेछ ।

Narendra Raule (नरेन्द्र रौले) said...

भैहाल्छ नि मित्र ।