Nov 3, 2009

विमलाको अभियान
महिलाहरूलाई समूहमा आबद्ध गर्ने, सामाजिक र राजनीतिक कार्यक्रममा सहभागी बनाउने, नेतृत्व र सीप विकास गर्दै आत्मनिर्भर बनाउने सोच थियो तर वातावरण थिएन । तैपनि साहस जुटाइन्, घोराही-३, दाङकी विमला योगी, ३८, ले । पानी, पँधेरा र पीपल चौतारी महिलाहरू भेला गर्दै उनले अभियान थालिन् ।

१० जना महिलालाई लिएर समूह गठन गर्दाको त्यसबेला उनीहरूले जम्मा पाँच रुपियाँ उठाएका थिए । पाँच रुपियाँबाट सुरु भएको त्यस कामले अहिले तीन करोडभन्दा धेरै पैसा जम्मा गरिसकेको छ । सात जना सहकर्मीको सहयोगबाट सुरु भएको यो अभियान महिला र बालबालिकाको क्षेत्रमा काम गर्ने दाङको सबैभन्दा सक्रिय र ठूलो संस्थाका रूपमा स्थापित छ । प्रारम्भको त्यो साँघुरो परिधि नाघ्दै अहिले चेलीबेटी बेचबिखन, शान्ति, मानव अधिकारका क्षेत्रमा पनि काम गर्छ ।
दाङको पहिलो महिला संस्था नै विमलाले पहल गरेको नेपाल महिला सामुदायिक सेवा केन्द्र हो । संस्था दर्ता गर्न खोज्दा धेरै कठिनाइ झेल्नुपरेको उनी स्मरण गर्छिन् । भन्छिन्, "१६ वर्षअघि जिल्ला प्रशासन कार्यालय, दाङमा दर्ता गर्न खोज्दा तत्कालीन सीडीओले निकै हप्काए । महिलाले पनि संस्था खोल्छन् भन्दै धम्क्याउँदै पठाए ।" हिम्मत नहारिकन लागिपरेकी उनले तीन महिनापछि विधिवत् रूपमा संस्था दर्ता भयो । समूहमा दिदी-बहिनीहरूलाई एकताबद्ध गर्न घरमा जाँदा पुरुषहरूले कुकुर पठाएर टोक्न लगाउने कटु अनुभवसमेत उनीसँग छ । "महिलाहरूका पक्षमा लड्न ठूलै संघर्ष गर्नुपर्‍यो । तर, हिम्मत नहारीकन लडिरहेँ," विमला भन्छिन् । यसबापत उनले जिल्ला विकास समिति, दाङबाट २०५५ उत्कृष्ट समाजसेवी र रेयुकाई जिल्ला शाखाबाट ०५६ मा महिला र बालबालिकाको क्षेत्रमा योगदान पुर्‍याएबापत वर्षको समाजसेवी पुरस्कार पाइसकेकी छन् । हालै मात्रमा विधवा महिला सरोकार केन्द्रले पनि उनको सम्मान गरको छ ।
दाङका ४० वटा गाविस र दुईवटा नगरपालिकामा महिलाहरूलाई सीपमूलक, नेतृत्वदायी र आत्मनिर्भरका तालिमको अगुवाइ गरिरहेकी विमला भन्छिन्, "यस सामाजिक अभियानमा निरन्तर लागिरहने छु ।"

1 comment:

Basanta said...

सफलताको शुभकामना! विमला दिदीलाई!