नरेन्द्र रौले
द्वन्द्वकालमा युद्धले बनाएका घाउहरु रोल्पामा विस्तारै पुरिँदैछन् । जनयुद्धको उद्गमस्थल रोल्पामा युद्धकालमा आउन कोही मान्दैनथे । द्वन्द्वकालमा रोल्पाको नाम सुन्दा मात्र धेरैको मुटुमा सातो जान्थ्यो । अहिले खुसी हुँदै रोल्पा आउन चाहन्छन् सरकारी र गैरसरकारी संस्थाका कर्मचारी । यतिमात्र होइन, रहरैले यो जिल्ला घुम्न चाहने युवापङ्क्तिको जमात पनि उत्तिकै छ । गएको साता तिहारको पूर्वसन्ध्यामा लिवाङबाट सिमलबाङ जाँदा गाडीमा भेटिए- विवेक ढकाल (२०) । राजधानीको सुविधासम्पन्न एनसिएम कलेजमा पढ्ने उनी विराटनगरका हुन् । तिहारमा उनी घर गएनन् बरु उनी साथीसँग रोल्पातिर हानिए । यहाँको जनजीवन र मानिसहरुको सभ्यता र व्यबहार उनी देखेर उनी छक्क परे । "मैले यस्तो होला भन्ने सोँचेकै थिइन"- उनले भने ।
रोल्पा, जनयुद्धको उद्गम थलो जहाँबाट जनयुद्धको थालनी भयो । यहीँबाट सुरु भएको क्रान्तिको आगो देशभर सल्कियो । मुलुकको संरचना र गरिब निमुखाहरुको दिन फर्काउन भन्दै माओवादीहरुले रोल्पाबाटै जनयुद्धको शङ्खघोष गरे । विस्तारै क्रान्तिले अनेकौ मोडहरु झेल्दै १२ वर्ष पारगर्दा मुलुकमा अनेकौ राजनीतिक उथलपुथल भए । जनयुद्धकै कारण नेपालले विश्वका सर्वशक्तिशाली राष्ट्रको आँखा तान्यो ।
जनयुद्धको उद्गमथलो भएकै कारण पछिल्ला दिनहरुमा रोल्पा धेरै मानिसहरुका लागि आकर्षणको केन्द्र बन्यो । घुम्नकै लागि यहाँ आउनेहरुको ओइरो लाग्न थाल्यो । रोल्पामा त्यस्तो कुनै गाविस र गाउँ छैन जहाँ जनयुद्धका क्रममा कसैले ज्यान नगुमाएको होस् । त्यस्तो कुनै बस्ती छैन जहाँबाट क्रान्तिमा मानिसहरु सामेल नभएका हुन् ।
निकै विकट, पिछडिएको, अभाव, रोग भोक र शोकले ग्रस्त ठानिएको रोल्पाको अनुहार विस्तारै फेरिदैछ । अहिले हरेक गाविसहरुमा गाडी हिड्ने बाटाहरु छन् । रुकुम र सल्यानलगायत चारैतर्फका जिल्लाहरुबाट सदरमुकाम लिबाङ जोड्ने बाटोहरु बनिसके । वर्षामासबाहेक अरु बेला गाडी चल्छन् । सदरमुकामबाट एक घण्टा टाढाको गाउँ माडिचौरमा पानी ल्याउनका लागि घण्टौको यात्रा गर्नुपथ्र्यो । अहिले घरघरमा पानीका धारा बनेका छन् । गाउँलेहरु तरकारी खेती गर्छन् । कतिपयले च्याउ खेती गर्छन् । माडीबासीहरु टमाटर,काउली लिएर सदरमुकाममा बेच्छन् । द्वन्द्वको समयमा माओवादी अभियानमा गाउँगाउँ दौडिने बिद्यार्थी अहिले निर्धक्कसँग स्कुल जान थालेका छन् । सदरमुकाममा बोर्डिङ खोलिएको छ । यहाँबाट दुइ दिन टाढा रहेको थबाङमा अहिले कम्व्प्युटर इन्स्टिच्युट र बोर्डिङ स्कुलहरु खोलिएका छन् । टेलिफोन टावर बन्दैछ । थबाङ-१ खेरबाङका दिराज बुढामगरले कम्प्यटर पढाउँछन् । करिब ५० जनाभन्दा बढी महिला र पुरुषले अहिले कम्प्युटर सिक्छन् । कम्युटरको आधारभूत तालिमका लागि दुई हजार तीन सय रुपैँया तिर्नुपर्छ । ४५ बषर्ीय बरदप्रसाद घर्ति पेशाले किसान भएपनि कम्प्युटर सिक्न अनिवार्य ठान्छन्। भन्छन्- "के गर्ने ? समयअनुसार परिवर्तन हुनैपर्यो ।"
फोटो खिचाउनका लागि पहिले सदरमुकाम आउन बाध्य थबाङबासीहरुलाई अहिले त्यो चिन्ता छैन । दिराज बुढामगरले खोलेको फोटो स्टुडियोमा रोल्पाको उवा, जेलबाङबाट मात्र होइन, रुकुमबाट समेत मानिसहरु आउँछन् । पुरै थबाङ बिजुलीबत्तिको उज्यालोले झलमल्ल छ । छ महिनाअघि मात्रै लघु जलविद्युत आयोजनाले गर्दा गाउँ झलमल्ल भएको हो । "यस्तो दिन आउला भन्ने कहिले लाग्नु, सपनाजस्तो लाग्छ-उहिले र अहिलेको फरक देख्दा"- इरादा झाँक्रीमगरले भनिन् ।
No comments:
Post a Comment