नरेन्द्र रौले
(यो फिचर नेपाल साप्ताहिकमा प्रकाशित भाईसकेको छ । पत्रीकाकै स्वरुपमा हेर्ने मन भए यहाँ क्लिक गर्नुहोस् http://www.kantipuronline.com/Nepal/show.php?&sid=3645)
सरस्वती उच्च मावि माझकोट, तनहुँबाट एसएलसी टेस्ट परीक्षा उत्तीर्ण गरेपछि पढाइ छाडेकी जमुना गुरुङ अहिले ब्युटीसियन बनेकी छन् । सदरमुकाम दमौलीबाट दुई घन्टा टाढाको गाउँ भीमादमा यी २० बर्सिया जमुनाको ब्युटीपार्लर छ । उनको चार महिना पुरानो पार्लरमा कस्मेटिक पसल पनि छ । ग्राहकको कमी छैन । जमुना भी कट्, स्टे्रट कट्, यू कट्, मसरुम कट्, कोरयिन, चाइनिज सबैखाले स्टायलमा सिपालु भएकी छन् । केटी मात्र होइन, केटा र बुढ्यौली लागेकाहरू पनि दारी-कपाल बनाउन उनको पार्लरमा आउँछन् । सुरुमा केटीबाट कपाल कटाउन अप्ठ्यारो मान्नेहरू अहिले सहज मान्न थालेका छन् । काठमाडौँको दाँजोमा निकै सस्तो पनि छ यहाँको रेट । ठूलो मान्छेको कपाल कटाउँदा २०, सानोको १५ र दारी बनाएको १५ रुपियाँ मात्र । केटीहरूको कपाल बनाउँदा भने ३५ देखि ५० रुपियाँसम्म लिन्छिन्, जमुना । यस व्यवसायबाट उनले प्रतिमहिना पाँच सय रुपियाँ कोठाभाडा तिरेर बचत पनि गर्छिन् ।
जमुनाको पार्लरबाट दुई मिनेटमै आउँछ, चाँदनी श्रेष्ठको चाँदनी ब्युटीपार्लर । तीन वर्षअघिबाटै कस्मेटिक पसल चलाएकीले उनले पार्लर खोलेको चाहिँ गत पुसदेखि मात्र हो । त्यसयता उनको पार्लरमा ग्राहक संख्या बढेको छ । १० कक्षासम्म पढेकी सात घन्टा परको घिरिङि गाउँकी चाँदनीको दिन व्यस्ततामा बित्ने गरेको छ । भीमादको मूल बजारबाट अलिकति माथिको बाँसका झ्याङ्हरू हल्लिरहने गाउँले सेरोफेरोमा सुष्मा, गंगा-जमुना, एलिसालगायत आधा दर्जन ब्युटीपार्लर सञ्चालनमा छन्, अहिले । यो गाउँले परिबेशमा विभिन्न कारणले पढाइ छोडेका, पढ्नबाट वञ्चित भएका युवतीहरूले खोलेका पार्लर हुन् यी । पोखराको एफ स्किल नामक संस्था र जनहित ट्रेनिङ् एन्ड टे्रड सेन्टरको सहयोगमा गत पुसमा तालिम लिएका २ सय ८८ महिलामध्ये करबि ५५ जना अहिले ब्युटीपार्लर खोलेर स्वरोजगार भएका छन् । संस्थाका अनुगमन तथा सुपरीवेक्षण प्रमुख प्रज्ज्वल शर्माका अनुसार, यो तालिम एसएलसीभन्दा माथि पढ्न नसकेका महिलामा लक्षित थियो । तिनैमध्येकी एक हुन्, छाँग गाविस-८ चिम्खानकी सुनिता परियार , २२, जसले अहिले गाविसचोकमा पार्लरसँगै कस्मेटिक पसल पनि खोलेकी छन् । उनी पनि दैनिक आउने महिला-पुरुष ग्राहकहरूको सन्तुष्टिमा खटेकी छन् अरूझैँ । उनलाई कमाउन विदेश जानुपरेको छैन । आफ्नो कमाइबाट मासिक १ हजार ५ सय रुपियाँ कोठाभाडा तिरेर बाँकी घर पठाउँछिन् ।
तनहुँको सरस्वती माविमा एसएलसी अनुत्तीर्ण भएकी माझकोट-६, जमुनडाँडाकी विष्णु गुरुङ, २१, ले पनि ब्युटीसियन बनेर राम्रै प्रगति गरेकी छन् । एक महिनाअगाडि खैरेनीटारमा युनिक ब्युटीपार्लर खोलेकी उनलाई अहिले अरूतिर सोच्ने फुर्सद नै हुँदैन । उनको पार्लरमा महिलाभन्दा पुरुषहरूको भीड लाग्छ । भन्छिन्, "अरूले भन्दा राम्रो सेवा दिएकैले मेरो पार्लरमा बढी मानिस आएका हुन् ।" ब्युटीसियन डे्रसमा सजिएकी विष्णुले सुरुमा लोग्नेमानिसको कपाल काट्दा अप्ठ्यारो लागेको मुस्कुराउँदै सुनाइन् । पुरुष ग्राहकलाई पनि त्यस्तो अप्ठ्यारो अनुभव हुन्थ्यो नै । जस्तो कि युनिक ब्युटीपार्लरमा केश काट्न आएका दीपक गुरुङ भन्छन्, "अबचाहिँ सबैलाई बानी पर्यो ।" आफ्नो पार्लरमा बढी ग्राहक आउनुमा आफूले लिएको तालिम र प्राप्त गरेको सीप महत्त्वपूर्ण पक्ष भएको विष्णुको बुझाइ छ । हुन पनि उनले एफ स्किलपछि स्याङ्जाको वालिङ, भकुन्डे र रानीपौवा इन्स्िट्च्युटबाट थप तालिम लिइन् । उनले पार्लर खोल्दा पनि अलि बढी नै पैसा खर्चेर सुविधाजनक बनाइन्, जसमा दिदीबाट ८० हजार रुपियाँ सहयोग लिइन् । पार्लरमा उनी भीमादकै साथी रीता सुन्दाससँग काम गररिहेकी छन् । महिनामा केही हजार रुपियाँ कमाउन लाखौँ खर्च गरेर विदेशिनेहरू बढेका बेला भीमादका गाउँले ब्युटीसियनहरू यसरी उदाहरणीय बनेका छन् ।
1 comment:
अरूलाइ राम्रो बनाउनु राम्रै हो ।
Post a Comment