May 5, 2009

ब्लगिङको दुनिया
नरेन्द्र रौले
(यो फिचर नेपाल साप्ताहिकमा प्रकाशित भाईसकेको छ । पत्रीकाकै स्वरुपमा हेर्ने मन भए यहाँ http://www.kantipuronline.com/Nepal/show.php?&sid=4003 क्लिक गर्नुहोस् )


पैसा तिर्नै पर्दैन । इमेल खोले जस्तै सजिलो । मिनेटमै पर्सनल वेब साइट बन्छ । मनभरीका कुरा लेख्न सकिने । मन परेका तस्विर राख्न सकिने । अडियो र भिडियो पनि राख्न मिल्ने । कस्तो मज्जा छ यसमा ?
"गएको राती म निकै सोच मग्न भएँ । अठार बर्ष मेरो किशोराबस्था देखि राष्ट्रपति बनेको यो रोमाञ्चित क्षण सम्मका घटनाक्रम झलझलि आँखाभरि आइरहे । बुसले शासन गरेको यो भवनमा बसिरहदा निकै चुनौतिहरुका माझ घेरिएको छु ।" शक्तिशालि राष्ट्र अमेरिकाको राष्ट्रपति पदमा निर्बाचित भएपछि बाराक ओबामाले आफ्नो ब्लगमा ब्यक्त गरेका विचार हुन् यिं । निजी वेब साइट खोलेर अमेरिकी जनता सामु सुचनाको ब्यापक प्रयोग गरेर राष्ट्रपति पदमा निर्बाचित हुन सफल ओबामा नियमित ब्लग गर्छन् । नेपालमा पनि सुचना प्रबिधिले दिनप्रतिदिन गति लिदैछ । यसको ब्यापक प्रयोग हुन थालेको छ । केहि नेपाली राजनितीज्ञ र सेलिब्रिटीहरु पनि ब्लगिङ तर्फबिस्तारै आकषिर्त हुदैछन् । बिगतमा फेसबुकमा देखा पर्ने नेपाल सरकारका अर्थमन्त्रि बाबुराम भट्राइ अहिले त्यसबाट टाढा छन् । तर सुचनाको संसारबाट हराएका भने होइनन् । बरु आफ्नै नामको निजी वेब साइट खोलेर नया रुपमा देखा परेका छन् ।
हालै निमार्ण गरिएको साइट बाबुरामभट्राइडट्कममा उनले अलग्गै ब्लग सेक्सन छुट्याएका छन् । जहा आफ्ना सम्झना र अनुभुतिहरु पोखेका छन् यसरी , ' मेरो कानमा तल मर्स्याङ्दी नदी सुसाएको आवाज गुञ्जिरहन्छ र आखा वरिपरी लमजुङको तार्कुघाट बजार , तनहुको बाइस जघार र डुम्रिखर्क आखामा नाचिरहन्छन् । भण्डारी गाउका प्रत्येक उकाली ओह्रालीहरु अनि डाडाघरे हजुरआमा र माइजुहरुलाइ ससम्झीरहन्छु । ' आफ्ना किशोराबस्थाका सम्झनाहरु ब्लगमा मीठो शैलीमा यसरी पोखेका छन् उनले ।
विश्वका कुनै पनि ब्यक्ति सग प्रत्यक्ष सम्बाद गर्ने र आफ्ना कुराहरु पनि राख्ने उद्देश्यले वेब साइट खोलीएको बताउछन् भट्राइ । 'धेरै भन्दा धेरै जनता सग भेट्ने इच्छा पुरा नभएकाले त्यो इच्छा वेब साइटले पुरा गरिदिएको छ । ' उनी भन्छन् । जनता सग प्रत्यक्ष अर्न्तक्रिया गर्दै प्राप्त ,सुझाब , आलोचनाका आधारमा आफुलाइ र पार्टिलाइ जनताकै पक्षमा लाग्न मद्दत पुग्ने उनले विश्वास गरेका छन् । उनका निजी सचिब विश्वदिप पाण्डेको सहयोगबाट साइट अपडेट हुने गरेको छ । बिभिन्न पत्रपत्रिकामा प्रकाशित अर्न्तवार्ता , लेख , फोटो ग्यालरी , राजनितीक जिवन , अडियो भिडियो , आफ्ना बारेमा अरुद्वारा लिखित लेख र प्रकाशित पुस्तकहरुको जानकारी सहित नया रुपमा साइट पस्केका छन् । भिजिट गर्नेहरु ह्वात्तै बढेका छन् । दैनिक रुपमा सय देखि एक सय पचास चिठीहरु आइपुग्छन् । पचास वटा भन्दा बढी इमेलहरु आउछन् । ति सबै प्रतिक्रियाहरु पढेर जवाफ फर्काछन् भट्राइ ।
नेपालको प्रतिब्यक्ति केहि समयमै बृद्धि हुने कुरा भट्राइले उल्लेख गरेपछि सुर्खेत देखि सिंगापुरका सम्मका पाठकहरुले प्रतिक्रिया दिएका छन् । ' देशमा शान्ति भएन । हामी युवा विदेश पलायन हुनुपर्‍यो । हामीले केही गर्ने वातावरण हुनुपर्‍यो । ' रोजगारीका सिलसिलामा साउदि अरब पुगेका पुष्पराज शर्माले बाबुरामलाइ लक्षित गर्दै लेखेका छन् । धेरैका लागी आशाको केन्द्र बनेका बाबुरामलाइ उनकै जिल्लाबासी टप गुरुङले देशलाइ परिकल्पना गरेभन्दा पनि राम्रो बनाउनेमा विश्वास छ । पाठकहरु सगको सम्पर्कलाइ अझ नजिक बनाएको छ ब्लगले ।

'ब्लग' एउटा निजी खुला डायरी हो । यो इन्टरनेट डायरीमा आफ्नो दिनचर्या स्वतन्त्रतापूर्वक लेख्न सकिन्छ । खासमा ब्लगिङको नियमै हुदैन । नया बिषयमा जति लेख्न सक्यो ,पाठकहरु माझ त्यति आकर्ष पैदा गर्न सकिने । जति नया शैलीमा ढाल्न सक्यो त्यति पढौ पढौं लाग्ने । पत्रिकामा सम्पादकले गरे जस्तो छाँट्काँट कतैबाट पनि नहुने । न डेडलाइन हुन्छ ,न निश्चित सिमा हुन्छ । मनमा जे छ सबै कुरा लेख्न सकिन्छ । इन्टरनेट पहुच भएका र कम्प्युटर सम्बन्धि जानकारी भएका जोसुकैले ब्लग गर्न सक्छन् ।
आम जनता समक्ष लोकप्रिय बनेका युबा नेता गगन थापा माइ संसार , फ्रीनेपाल , साझा डट कम जस्ता ब्लग नियमित रुपमा हेर्छन् । दिनको दुइ घण्टा इन्टरनेटमा बिताउने गगन ब्लग गर्छन् । छिट्टै आफ्नो निजी वेव साइट पस्किने तयारीमा लागेका छन् उनी । भन्छन् , 'आफ्नो कुरा कति अरुलाइ सुनाउने जनताको कुरा पनि सुनौं न । ' नेपाली राजनितीमा आफुले गरेका ताता भाषणहरुलाइ शब्दमा मात्र होइन अडियोमा पनि सुन्न सकिने गरि राखिएको छ । देशका प्रत्येक कुना काप्चा देखि अमेरिका सम्म गएर दिएका भाषणहरुलाइ ब्लगमा राखिएको छ । ब्लगमा राखिएका लेखहरुले पनि पाठकहरुलाइ जोशिलो बनाउने खालका छन् । मधेश आन्दोलनलाइ अबसरका रुपमा लिनुपर्छ भन्दै उनी लेख्छन् , 'जय केहि मधेशिहरुको होइन , जय मधेशको हुनुपर्छ , जय केहि नेपालीहरुको होइन सिंगो नेपालको हुनुपर्छ ।'
आफ्नो पुरानो वेब साइटलाइ परिमार्जन गरेर कांग्रेसकै नेता नरहरी आचार्यले त्यसलाइ नया रुप दिएका छन् । राजनितीक दस्ताबेजहरु , आफ्ना प्रकाशित पुस्तकहरु र दिनचर्यालाइ यसमा पस्किन सुरु गरेका छन् आचार्यले । अर्न्तराष्ट्रिय बृत्तमा चिनाउन वेब साइट सुरु गरेको बताउछन् , आचार्य । तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि आमसञ्चार माध्यम माथि अंकुस लगाइयो । समाचारमा कडा सेन्सर हुन थालेपछि अभिब्यक्तिको माध्यमको बिकल्पका रुपमा ब्लगको सुरुवात भएको भएको थियो । सन् २००४ मा पत्रकार दिनेश वाग्ले र उज्जवल आचार्यले युनाइटेड वि ब्लग नारा दिएर ब्लग डट कम डट एनपि को नाममा सुरुवात गरेका थिए । पत्रिकामा नअटाएका कुरा ब्लगमा राख्न उनीहरुले यसको सुरुवात गरेका थिए । पछि यसको लोकप्रियता दिनप्रतिदिन अर्न्तराष्ट्रिय रुपमा बढ्दै गयो । नेपाल प्रति चासो राख्ने विदेशमा रहेका नेपालीहरु यसका पाठकहरु थिए । अग्रेजी भाषामा वाग्लेले खोलेको ब्लग पहिलो भएपनि नेपाली भाषामा भने उमेश श्रेष्ठले सुरुवात गरेको माइसंसार डट कम नै पहिलो ब्लग मानिन्छ । माइसंसारका पाठकहरु पनि देश विदेशमा अत्यधिक रहेका छन् ।
विज्ञान मन्त्रि गणेश शाहले पनि प्रत्यक्ष शाहि शासनकै बेला देखि ब्लग खोले । 'सञ्चारका साधन नहुदा मैले त्यसको ठाउ पुर्ति गर्न ब्लग उपयुक्त ठानें । ' ब्लग खोल्न कसरी सिके त उनले - अमेरिकामा रहेका छोरा निरजलाइ फोन गरेर ब्लग खोल्ने तरिका बारे सिकेछन् । 'छोरासंग स्काइपि च्याट भइरहन्थ्यो । उनैले सिकाए ।' सिंगापुरमा रहेका अर्का छोरा पंकजले एउटा ल्यापटप पठाइदिएका छन् । त्यसैबाट मन्त्रि शाहले ब्लग अपडेट गर्छन् । सामान्यतया मन्त्रि शाह लाइ 'एबनर्मल जव' गर्न मन लाग्दैन रे । पेशाले उनी मेकानिकल इन्जिनियर पनि हुन् । 'नया नया काम गर्न मन लाग्छ । ' उनी भन्छन् ।
जनककपुर लोहना गाविसमा जन्मेका मन्त्रि शाह नेकपा संयुक्तका पूर्व महासचिव पनि हुन् । राजनिती र समाजसेवामा रुचि राख्छन् । आफु उच्च ओहदामा रहे पनि ब्लगमा उनको लेखाइको विषय भने निम्न स्तरका जनताले ठाउ पाएका छन् । र्सलाहिमा पार्टिको कार्यक्रम हुदा डोम जातिका एक युबकलाइ भेटेछन् । उनको पढाइ लेखाइ , पारिवारिक स्थिती ,बैबाहिक जानकारी पनि लिएछन् । पछि राजधानि फर्केर तिनै युबकका बारेमा उनले आफ्ना अनुभुतिहरु ब्लगमा लेखे । सार्कि , मुसहर र डोम जातीका मानिसहरुलाइ कसरी शिक्षित बनाउने भन्ने विषयमा पनि उनले लेखेका छन् । देश विदेश भ्रमण हुदा उनले खिचिएका फोटाहरु पनि ब्लगमा हेर्न सकिन्छ । प्रतिगमनका बेला घरमै बसिन्थ्यो । समय हुन्थ्यो । तर मन्त्रि बनेपछिको दिनचर्या बढेको छ । खासै समय हुदैन । उनका सहयोगी दीपक अधिकारीले पनि ब्लग गर्न सहयोग गर्छन् ।
सात बर्षदेखि डामाडोल डट कम चलाउदै आएका हास्यकलाकार मनोज गजुरेलले गजुरेल डट कम का नाममा आफ्नै निजी ब्लग सुरु गरिसकेका छन् । पुरानो वेबसाइटमा हास्यब्यंग्यात्मक कविता , प्यारोडी , लोक दोहोरी र चुटकिलामा मात्र सिमित गजुरेलले नया वेव साइटमा जन्मथलो ताप्लेजुङ देखि सात समुद्र पारी अमेरिका भ्रमण का अनुभुतिहरु मीठो शैलीमा पोखेका छन् ।
एक पटक हास्यब्यंग्य कार्यक्रम देखाउन गजुरेल बाग्लुङ पुगेछन् । साथीभाइ सग गफ गर्दै राती अबेर १२ बजे सुतेछन् । भोली बिहान मज्जाले सुतौंला भन्ने सोचेका गजुरेलको निद्रा पाच नबज्दै खुलेछ । होटल पीस प्यालेसमा निकै होहल्ला भएछ । प्रचण्डलाइ हेर्न भनेर मानिसहरु झुम्मिएका रहेछन् । सक्कली प्रचण्ड नभएर नक्कली प्रचण्ड बनेका मनोज गजुरेल हुन् भन्ने थाह पाएपछि मात्र भिड शान्त भएको थियो । ठट्यौली पारा देखाउन पनि पछि परेका छैनन् उनी । अमेरिकामा आफ्नो कला देखाउन पुग्दा नायिका सारंगाले सोधिछन् , दाइ अहिले नेपालमा कस्तो छ ? बिजोग छ नि बहिनि । किन दाजु ? जवाफ भनेछन् , तपाइ जस्तो नाइटो देखाउने नायिका बिदेश पलायन भएपछि के मा ब्यंग्य देखाउने ? जवाफ सुनेर नायिका फिस्स हासिछन् । समसामयिक राजनिती प्रति ब्यंग्य गर्दै नक्कली प्रचण्ड , राजाको नक्कल गर्दै बनाइएका अडियो भिज्युल भट्टि भजन ,अन्तिम सम्बोधन ,छाडबिन आयोग ,बहुदलको गीत , शाहि सम्बोधन , कौन बनेगा राष्ट्रपति जस्ता सामग्री पनि ब्लगमा पस्किएका छन् ।
सोखका रुपमा हो वा फेसन का रुपमा पछिल्ला दिनहरुमा ब्लगको संख्या निकै बृद्धि हुदै गइरहेको छ । तर नियमित अपडेट भने हुदैनन् । यस्ता ब्लग हरु निकै कम मात्रामा छन् जो अपडेट हुन्छन् ।

No comments: