Sep 5, 2009

किताब बेच्ने नौलो जुक्ति
नरेन्द्र रौले/काठमाडौँ
आफूले लेखेका पुस्तकहरू कसरी बेच्ने ? धेरैजसो लेखक पुस्तक पसलको भर पर्छन् । कतै प्रकाशन गृहले नै बिक्रीको जिम्मा लिएका हुन्छन् । मकवानपुर, फापरबारी-५ का भीमप्रसाद दुलाल, ६५, ले भने पुस्तक बेच्ने अर्कै तरिका अपनाएका छन् । विसं ०३८ देखि हालसम्म ६९ किताब लेखिसकेका दुलाल किताब बेच्न मुलुकका ७५ जिल्ला पुगिसकेका छन् । उनी जहाँजहाँ जान्छन्, मानिसहरू भेला गरेर सिंगै किताब पढेर सुनाउँछन् र मन पराउनेलाई त्यहीबेला किनाउँछन् । दुलालले राजनीतिक व्यंग्य, अपराध, तस्करी र दरबार हत्याकाण्डदेखि श्रीखण्डलाई खुर्पाको बिँड बनाउने प्रवृत्तिसम्मका विषयमा कलम चलाएका छन् । यस क्रममा ३१ पटक पक्राउ परेका छन्, तीन वर्ष जेलमा बिताएका छन् । सधँै एक्लै हिँड्ने बानी बनाएका भीमप्रसादले अहिले भने ललितपुरका गणेशराज भेटवाल, ३८, लाई अभिन्न साथी बनाएका छन् । यी दुईले एक स्वरमा कविता पढ्दा श्रोताबाट तालीको पर्रा छुट्छ । यो काइदा अपनाउँदा एकै दिनमा ६० वटासम्म किताब बिकेका छन्, भीमप्रसादका । भन्छन्, "अब पुस्तक पसल खोल्ने सुरमा छु ।"
पत्रिकाकै स्वरुपमा हेर्ने भए यहा" छ
http://www.kantipuronline.com/Nepal/show.php?&sid=5376

No comments: