मुखले लेख्ने गीतकार •नरेन्द्र रौले
सशस्त्र द्वन्द्वको शिकार बनेका टीका बम्जन (२८) पेशाले नेपाली सैनिक हुन्। उनले चार वर्षअघिको एक भिडन्तमा दुवै हात गुमाए। तर, हात नभए पनि उनका मन–मस्तिष्कबाट उब्जेका सिर्जनाहरू रोकिएनन्। सुन्दा अचम्म लाग्न सक्छ; उनी मुखले गीत लेख्छन्। हात नभएपछि शुरुमा खुट्टाले लेख्ने प्रयास गरेँ तर सफल नभएपछि मुखले लेख्न थालेँ। उनी भन्छन्, “अहिले मुखले लेख्दा सजिलो लाग्न थालेको छ।”'कस्तो भाग्य' नामक पहिलो अल्बममा उनीद्वारा रचित आठ वटा गीतहरूमा उनले आफ्नै जीवन–कथा पोखेका छन्। मुखको सहाराले लेखेका गीतहरू सङ्गीत र स्वरमा सजिएर अल्बममा समेत आएपछि उनी दङ्ग छन्। पछिल्लो पटक उनले श्री म्युजिक प्रा.लि.बाट आफैँ लगानी गरेर 'प्रेमिका' अल्बम बजारमा ल्याएका छन् जसको म्युजिक भिडियो पनि तयार भइसकेको छ। दुवै अल्बममा चन्द्रकुमार दोङले सङ्गीत दिएका छन् भने ईश्वर अमात्य, कर्णदास, शिव परियार, रामचन्द्र काफ्ले, त्रिलोक राना आदिले स्वर दिएका छन्।परिवारको कमजोर आर्थिक अवस्थाका कारण २०५६ सालमा नेपाली सेनामा प्रवेश गरेका राजघाट–२, सर्लाहीका बम्जन सेवाको क्रममा रुकुम, रोल्पा, सल्यानलगायत काभ्रे, धादिङ र भक्तपुरजस्ता विभिन्न जिल्लाहरूमा पुगे। थुप्रै ठाउँमा उनी दोहोरो भिडन्तमा परे। तर २०५९ सालमा सूर्यविनायकबाट २८ जनाको टोलीमा नगरकोटतर्फ सर्च गर्न जाँदा भएको भिडन्तमा लड्दालड्दै आफ्नै सुरक्षाका लागि राखिएको विद्युतीय धरापमा परेर उनले दुवै हात गुमाए। गीत/सङ्गीतलाई जीवनको साथी ठान्ने उनी भन्छन्, “गीतमा दुःख, सुख पोख्न सकिन्छ, त्यसैले म गीत लेख्छु।” जीवनप्रति आशावादी बम्जनको बुझाइमा जीवनमा मानिसले चाह्यो भने गर्न नसकिने केही छैन। आफूले लेखेका गीत आफैँ गाउने धोको पूरा गर्न अहिले उनी गायन प्रशिक्षण समेत लिइरहेका छन् ।
(यो समाचार हिमाल खबर पत्रीकामा पहिले नै छापिएको छ ।)
No comments:
Post a Comment